तारा एयर विमान दुर्घटना : मृतकको शव काठमाडौँ ल्याइने



काठमाडौँ । तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए ।

मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्न सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् । 


चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका हुन् ।