महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान हो : मन्त्री भुसाल



काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताएकी छन् ।

अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज यहाँ आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उनले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गरिन् । मन्त्री भुसालले महिलाको स्वास्थ्यमा सबै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् ।


“महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वाथ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ”, उनले भनिन्, “यो गर्वको कुरो हो तर पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।”

मन्त्री भुसालले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले समाज विकासका क्रममा महिलाका विषयमा पनि चेतनास्तर बढ्दै गएकाले अबका दिनमा चेतनास्तर प्रवद्ध्र्रन गर्दै जानुपर्ने आवश्यकता औँल्याइन् ।