राजनीतिमा लागेका शिक्षक हटाउने राजापुरका मेयरको निर्णय



बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आवद्ध शिक्षकलाई पदबाट हटाउने निर्णय गरेको छ । नवनिर्वाचित मेयर दिपेश थारुले आफ्नो पहिलो निर्णयमा राजनीतिमा सक्रिय शिक्षकहरुलाई राजीनामा गराउन नगरभित्रका सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेका छन् ।

मेयर थारुले शिक्षा ऐनको उल्लंघन गरी विभिन्न राजनीतिक दलमा संलग्न हुने र सक्रिय रुपमा राजनीतिक दलको कार्यकारिणी पदमा बसेर विद्यालयको पठनपाठन प्रभावित हुनेगरी आचरण विपरीत कार्य गर्ने शिक्षकलाई राजीनामा गराउन पत्राचार गरेका हुन् । राजनीतिमा सक्रिय नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पदबाट राजीनामा दिन लगाई त्यसको विवरण सात दिनभित्र नगरपालिकामा पेस गर्न भनिएको छ।