सप्तरीको रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित



सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको नतिजा सार्वजनिक भएसँगै सप्तरीको सम्पूर्ण स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादव चार हजार २६९ मतका साथ अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका हरेराम यादवले तीन हजार ९३५ मत ल्याएको निर्वाचन अधिकृत सप्तरी जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्कले जानकारी दिए ।


उपप्रमुखमा लोसपाकै पुष्पाकुमारी श्रेष्ठ ५६ मतको अन्तरले विजयी भएकी छन् । श्रेष्ठले तीन हजार ७१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी जसपाकी बेचनीदेवी सरदारले तीन हजार ६५४ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी रहेका हरेराम यादव र बेचनीदेवी सरदार गत निर्वाचनबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

कूल ६ वडा रहेको गाउँपालिकामा माओवादी केन्द्र र जसपाले दुई/दुई तथा कांग्रेस र लोसपाले एक/एक वडाध्यक्षमा विजयी हासिल गरेको छ । लोसपाबाट वडा नं १ मा लीला यादव, २ बाट माओवादीका सरोजकुमार यादव, ३ बाट नेपाली कांग्रेसका अमर मुखिया, ४ बाट नेकपा (माओवादी केन्द्र) का छेदी इशर, ५ र ६ बाट जसपाका क्रमशः गङ्गाराम यादव र बद्रीनारायण सरदार वडाध्यक्षमा निर्वाचित भएका छन् । योसँगै सप्तरीको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

कांग्रेस जिल्लाको सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपा, एमाले र लोसपाले तीन/तीन स्थानीय तहमा जीत हासिल गरेको छ । जनमत पार्टीले दुई स्थानीय तह तथा माओवादी केन्द्र र नेकपा (एस)ले एक/एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।