एक महिनामै उप्कियो कालोपत्र



२२ असार । भानु नगरपालिका–१ स्थित डुम्रे भन्सार साना शहर विकास आयोजनाले बन्दीपुर–१ स्थित पिप्ले क्षेत्रमा गरेको कालोपत्र एक महिना नबित्दै उप्किएको छ । आयोजनाले बन्दीपुर गाउँपालिका–१ पिप्लेदेखि खेलमैदान हुँदै गुरुङटार जाने सडक मार्गमा गरेको कालोपत्र उप्किएको हो । सङ्घीय सरकारको रु दुई करोड बजेटमा ठेकेदार कम्पनीले रु एक करोड २९ लाखमा सम्झौता गरी कालोपत्र तथा ढलान कार्य गरेको हो ।

कालोपत्र गर्ने समयमा राम्रोसँग गर्न भनी स्थानीयवासीले पटकपटक घच्घचाए पनि खासै चासो नदिँदा यो समस्या आएको गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए । आयोजनाले ५०० मिटर ढलानपछि ९०० मिटर कालोपत्र गरिएको जनाएको छ । ढलान र कालोपत्रेको जडान राम्रोसँग सुक्न नपाउँदै पानी पसेर चर्किन जाँदा करीब एक मिटर कालोपत्र उप्किएको आयोजनाका प्रमुख सफल श्रेष्ठले जानकारी दिएका छन् ।


सुलभ इन्फा काठमाडौँले ठेक्काको उक्त कार्यको जिम्मा पाएको थियो । कालोपत्र उप्किएको जनगुनासा आएपछि तत्कालै प्राविधिक टोली पठाएर अनुगमन गरिएको छ । उनले भने, ‘’योजनाको कार्य सम्पन्न भैनसकेकाले ठेकेदारलाई पुनः कालोपत्रको लागि आग्रह गरिएको छ ।’‘