इलामको सूर्योदय नगरपालिका प्रमुखमा समाजवादीका राई र उपप्रमुखमा कांग्रेसका बराल निर्वाचित



इलाम । इलामको सूर्योदय नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रणबादुर राई (आरबी) विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार काजीमान कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । काजीमानले १० हजार ५७९ मत ल्याएका छन् ।

राईले १२ हजार ४३१ मत पाएका छन् । उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । राई यसअघिसमेत यस नगरपालिकाको प्रमुखमा थिए ।


उपप्रमुख पदमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल विजयी बनेका छन् । उनी ११ हजार ८५४ मतसहित विजयी भएका हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले नौ हजार १२२ मत ल्याएकी छन् । भट्टराई निवर्तमान नगर उपप्रमुखसमेत हुन् ।

१४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह हो । यस पालिकाको मत परिणाम सार्वजनिक भएसँगै जिल्लाका सबै पालिकाको मतगणना सम्पन्न भएको छ ।