कपिलवस्तुको यशोधरामा एमाले र मायादेवीमा कांग्रेस विजयी



चन्द्राैटा । कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)ले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुञ्जादेवी मौर्य विजयी भएका छन् ।

तिवारीले चार हजार ४६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनुपकुमार पाण्डेयले तीन हजार २०० मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित मौर्यले चार हजार ४५ मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बिन्द्रावती यादवले तीन हजार २३७ मत प्राप्त गरिन् ।


यशोधरा गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित तीन वडा जितेको छ । आठ वडा रहेको गाउँपालिकामा कांग्रेसले दुई, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।

त्यस्तै मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षका उम्मेदवार वलिउद्दीन मुसलमानले पाँच हजार २७८ मत प्राप्त गरी चुनाव जितेका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी जसपाका उम्मेदवार बजरङ्गीप्रसाद कुर्मीले चार हजार ८८० मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी सरस्वती यादवले पाँच हजार ३७ मत प्राप्त गरी विजयी भइन् । जसपाका रश्मीसुधा त्रिपाठीले चार हजार ५७८ मत प्राप्त गरिन् ।