दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार निर्वाचित



खाेटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवारी विजयी भएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको यस नगरमा कांग्रेसका तीर्थराज भट्टराई प्रमुख र माओवादी का बिसन राई उपप्रमुखमा विजयी भएका हुन् ।


भट्टराईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कुमार आचार्यलाई चार हजार ३९३ र बिसनले एमालेकै विणादेवी राईलाई तीन हजार ११९ मतान्तरले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी भएको मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आचार्यले जानकारी दिए ।

भट्टराईले एघार हजार ३८९ मत ल्याएर विजयी हुँदा आचार्यले छ हजार ९९६ मत र बिसनले १० हजार ४३८ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी विणादेवीले सात हजार ३१९ मत ल्याएकी छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जीवनकुमार श्रेष्ठले नगर प्रमुखमा ४०५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ४८ मत तथा राप्रपाबाटै उपप्रमुखमा चन्द्रकुमारी राई ‘तारा’ले ५६६ मत ल्याएको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिइन् ।

नगरप्रमुख र उपप्रमुखमा चार राजनीतिक दलबीच चुनावी तालमेल भएको यस नगरपालिकाको अधिकांश वडामा एक्ला–एक्लै प्रतिस्पर्धा भएको थियो ।