मध्यपुरथिमि प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी



भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मताअन्तरले पछाडि पार्दै सुरेन्द्र निर्वाचित भएका हुन् ।

कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरी विजय भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरे । एमालेका मदनसुन्दरले विसं २०७४ को निर्वाचनमा १४ हजार मत ल्याएर एमालेबाट नगरप्रमुखमा विजय भएका थिए । यसपटकको निर्वाचनमा भने उनी आफ्नै जेठानसँग पराजित भएका हुन् ।


उपप्रमुखतर्फ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयकृष्ण श्रेष्ठ १२ हजार १०२ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपालले आठ हजार ९६३ मत प्राप्त गरिन् । मध्यपुरथिमिमा नौवटा वडामध्ये कांग्रेसले १, २, ३, ५, ६ र ९ वडामा विजय भएको छ ।

वडाध्यक्षतर्फ मध्यपुरथिमिको वडा नं १ मा कांग्रेसका बाबुकाजी डङ्गोल, २ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ, ३ मा कांग्रेसका कृष्णहरि आचार्य, ४ मा एमालेका बालकृष्ण श्रेष्ठ, ५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ, ६ मा कांग्रेसका ज्ञानदास प्रजापति, ७ मा एमालेका कृष्णकुमार प्रजापति, ८ मा नेमकिपाका रमेश थापा श्रेष्ठ र ९ मा कांग्रेसकै सानुकाजी राजबाहक विजयी भएका छन् ।

नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिका सभापति हरिदास प्रजापतिले बहुमत जनप्रतिनिधि कांग्रेसबाट विजयी भएको भन्दै नगरपालिकाको विकासमा सबैसँग हातेमालो गर्दै पार्टीको नीतिअनुसार जनप्रतिनिधि अगाडि जाने विश्वास व्यक्त गरे । मध्यपुरथिमि नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव सिलवालले मध्यराति १ बजे मध्यपुरथिमि नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरिएको जानकारी दिए ।