स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी



स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज साँझ सम्पन्न मतगणनाबाट प्रमुखमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मी र उपप्रमुखमा कांग्रेसकै देवी अर्याल निर्वाचित भएका हुन् ।

नेकपा (एमाले)बाट उम्मेदवारी दिएकी निवर्तमान नगरप्रमुख सीमाकुमारी क्षेत्रीलाई दुई हजार ४०४ मतले पराजित गर्दै रेग्मी प्रमुखमा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । रेग्मीले १२ हजार ४९४ मत प्राप्त गरेका छन् छ भने क्षेत्रीले १० हजार ९० मत ल्याइन् । विसं २०७४ को निर्वाचनमा नगरप्रमुखमा उनीहरु दुवै जना प्रतिस्पर्धी रहँदा क्षेत्री विजयी भएकी थिइन् भने यसपटक रेग्मी विजयी भएका हुन् ।


त्यस्तै उपप्रमुखमा निवर्तमान उपप्रमुख रहेका एमालेका महेश पुरीलाई ९८७ मतले पछाडि पार्दै कांग्रेसकी देवी अर्याल विजयी भइन् । विजयी अर्यालले ११ हजार ७४८ मत ल्याउँदा उनकाे प्रतिस्पर्धी पुरीले १० हजार ७६१ मत प्राप्त गरे । यसअघिको २०५४ सालको निर्वाचनदेखि निरन्तर रुपमा प्रमुख, उपप्रमुख र बहुमत वडाध्यक्ष विजयी हुँदै आएको एमाले बलियो रहेको पुतलीबजार यसपटक कांग्रेसको पोल्टामा गएको हो ।

यसपटक कांग्रेसले वडा नं १, ३, ४, ५, ७, ८, १०, ११ र १४ मा जीत दर्ता गर्दै गर्दा एमाले २, ६, ९, १२ र १३ मा विजयी भएको हो ।