लमजुङकाे दोर्दीमा एमाले, राइनासमा कांग्रेस विजयी



लमजुङ । पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकामा नेकपा एमाले र राइनास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएका छन् ।

आज साँझ सम्पन्न मतगणनाअनुसार दोर्दीमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का लालबहादुर गुरुङलाई ८७ मतअन्तरले पछि पार्दै एमालेका युवराज अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले चार हजार ७३८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी गुरुङले चार हजार ६५१ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित अधिकारीले संविधानसभा सदस्यसमेत रहेका गुरुङलाई पराजित गरेका हुन् ।


त्यस्तै उपाध्यक्षमा गठबन्धन उम्मेदवार, कांग्रेस दोर्दी गाउँपालिका सभापतिसमेत रहेका विच्छबहादुर घले चार हजार ९५८ मतका साथ विजयी भएका छन् । उनकाे प्रतिद्वन्द्वी एमालेकी उषा गुरुङले चार हजार १९० मत हासिल गरिन् । दोर्दी गाउँपालिकामा १५ हजार ८४ रहेकामा १० हजार ४०६ मत खसेको थियो ।

त्यस्तै राइनास नगरपालिकामा सत्ता गठबन्धनतर्फ कांग्रेसका उम्मेदवार खड्गबहादुर गुरुङ एक हजार ५८३ मतअन्तरले विजयी भएका छन् । उनले पाँच हजार ८२७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सिंहबहादुर थापाले चार हजार २४४ मत प्राप्त गरेका छन् । नगरप्रमुखमा पराजित थापा यसअघिका नगरप्रमुखसमेत हुन् ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार पुष्पराज खनाल पाँच हजार ८८७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शोभा पन्थी चिलवालले तीन हजार २३४ मत प्राप्त गरेकी छन् । राइनास नगरपालिकामा १५ हजार ९८९ मतदातामध्ये ११ हजार २३ मत खसेको थियो ।