सप्तकोशी नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख निर्वाचित



सप्तरी । सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ । निवर्तमान नगरप्रमुख उत्तमकुमार शर्मालाई पराजित गर्दै नगरप्रमुखमा कृष्णप्रसाद ढकाल विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

नगरप्रमुखमा ढकाल चार हजार ४६९ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ । निर्वाचित प्रमुख ढकालले शर्मालाई एक हजार ५०२ मत अन्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । एमालेका शर्माले दुई हजार ९६७ मत ल्याएका छन् । त्यसैगरी नेकपा (माओवादी केन्द्र) का रवीन्द्र चौधरीले दुई हजार ३०८ मत ल्याएका छन् ।


सप्तकोशी नगरपालिकाको उपाध्यक्षमा कांग्रेसकै रीताकुमारी चौधरी निर्वाचित भएकी छन् । रीताले तीन हजार ९५८ मत ल्याएर एमालेकी सङ्गीताकुमारी चौधरीलाई पराजित गरेकी हुन् । एमालेकी सङ्गीताले तीन हजार २०० मत ल्याएकी छन् । माओवादी केन्द्रकी राजकुमारी चौधरीले दुई हजार ३७३ मत ल्याएकी छन् ।