भिमादको प्रमुख र उपप्रमुखमा एमाले विजयी



तनहुँ । भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा एमालेले जितेको हो ।

नगरप्रमुखमा दधिराज सुवेदी आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरे ।


उपप्रमुखमा एमालेकै शारदा खनाल सात हजार ६६७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत प्राप्त गरे ।

कूल २४ हजार ८८४ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा १६ हजार १४९ मत खसेको थियो । भिमाद नगरपालिका–२, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ भने १, ४, ५, ६ कांग्रेसले जितेको छ ।