पाल्पाको माथागढीमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का यमबहादुर चिदी निर्वाचित भएका छन् ।

अध्यक्ष चिदीले छ हजार १०९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोषकुमार थापाले पाँच हजार ५५४ मत पाएका छन् । पराजित थापा २०७४ को निर्वाचनमा निर्वाचित पालिका अध्यक्ष हुन् ।


उपाध्यक्षमा एमालेकै विष्णुमाया लुङचे पाँच हजार ८८२ मतका साथ विजयी भएकी छन् । उनकाे प्रतिस्पर्धी कांग्रेसकी विजयाकुमारी भट्टराईले पाँच हजार ६४४ मत प्राप्त गरेकी छन् ।

नेपाली कांग्रेसका सचिवसमेत रहेका सन्तोषकुमार थापाको पराजय भएसँगै कांग्रेसका कार्यकर्ता तथा नेताहरु अन्तर्घात भएको आरोप प्रत्यारोपमा छन् ।

यहाँ २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य कांग्रेसबाटै विजयी भएका थिए । निर्वाचनमा १९ हजार ३४७ मतदाता रहेको माथागढी गाउँपालिकामा १३ हजार ३०१ मत खसेको थियो ।