माङसेबुङमा अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी



मङ्गलबारे । जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् ।

उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन् । एमालेका राईले तीन हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले तीन हजार ४९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र पाए ।


इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए । पाँच वर्षपछि दुवै नेताबीच दोस्रो पटक आमनेसामने भएकाे हाे । यसपटक भने राईले विजय हासिल गरे । राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुनुहुन्छ भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् ।