काठमाडाैँ । नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको पात्रो आज मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव महेश्वर न्यौपानेलगायत यस क्षेत्रका विद्वान्ले सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा सचिव न्यौपानेले विज्ञानसम्म गणनालाई संस्थागत गर्ने ऋषि परम्परालाई पुनर्जागरण गरिनुपर्ने बताए । “राष्ट्रिय–पञ्चाङ्गलाई मोबाइल एप्लिकेसन बनाएर हत्केलामा पु¥याउनुपर्छ, प्रविधिसँग जोडियो भने यो विधा सर्वस्वीकृत हुन्छ, प्रत्येक दिन हुने सूर्योदय र सूर्यास्तको गणना गर्ने ज्योतिष शास्त्रीय विधि विज्ञानसम्मत छ, सबै धर्मावलम्बीका लागि ग्रह गणना गर्ने विधि एकै हो”, उनले भने ।
सहकारी, संस्थागत विद्यालयलगायत विभिन्न सङ्घसंस्थाले निकाल्ने भित्तेपात्रोलाई स्वीकृति दिई नियमन गर्ने कामको जिम्मेवारी पनि समितिलाई दिएको सचिव न्यौपानेले सुनाए । भित्तेपात्रोमा तिथिमिति, चाडपर्व, बिदालगायत विषयमा फरक परेर समाजमा भ्रम सिर्जना हुन थालेकाले यस क्षेत्रको नियमन गर्न सरकारले समितिको गठन आदेश स्वीकृत गरी यस्तो जिम्मेवारी दिएको हो ।
पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो र भित्तेपात्रोमात्र प्रयोग गर्न पनि उनले आम मानिसमा आह्वान गरे । यससम्बन्धी जागरण फैल्याउनुपर्नेमा मन्त्रालयको जोड छ । समितिको स्वीकृति नलिएको पात्रो र भित्तेपात्रो जफत गरी त्यो सूचना सार्वजनिक गर्न पनि मन्त्रालयले समितिलाई निर्देशन दिएको छ ।
अर्को वर्षदेखि राष्ट्रिय–पञ्चाङ्ग फागुनमै प्रकाशन गर्न, गोजी पात्रो, भित्तेपात्रो पनि प्रकाशन गर्न, वर्षमा एकपटक पण्डित एवं ज्योतिषीको सम्मेलन गर्न पनि सचिव न्यौपानेले समितिलाई निर्देशन दिए । धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले पञ्चाङ्ग ब्रह्मवाक्य भएकाले यसको अभावमा राज्य अन्धकार हुने बताए । सबै कुराको निर्देश पञ्चाङ्गले गर्ने भएकाले यसको उपयोगिताका विषयमा सबै जानकार हुनुपर्ने उनको भनाइ थियो ।
पञ्चाङ्गमा राखिएका ग्रहगतिलगायत विषय आकाशीय ग्रहसँग मिलेको छ कि छैन भनी अध्ययन अनुसन्धानको व्यवस्था गर्न धर्मशास्त्रविद् गौतमले सरकारसँग माग गरे । आफ्नो नौवर्षे कार्यकालमा मन्त्री, सचिवलगायत उच्च अधिकारीलाई पटकपटक भन्दा पनि कार्यान्वयन नभएको विषयले अहिले साकार रूप लिँदा खुसी लागेको उनको भनाइ थियो ।
समितिका सदस्य एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले कर्मकाण्ड, ज्योतिष र पुराण वाचनलाई व्यवस्थित गर्न मन्त्रालयले ध्यान दिनुपर्ने बताए । धर्म, संस्कृतिका विषयमा विश्वलाई बाटो देखाउने काम नेपालको भएकाले त्यसअनुरूप नेपालले पहिले काम गरेर देखाउनुपर्नेमा उनको जोड थियो ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिषशास्त्र विभागका प्रा डा माधवप्रसाद पाण्डेयले सरकारले पञ्चाङ्ग प्रकाशन गरेको आजको दिन ऐतिहासिक बनेको उल्लेख गर्दै पात्रोमा प्रयोग भएको ग्रहगति र आकाशीय ग्रहगतिका विषयमा अध्ययन अनुसन्धानको व्यवस्था गर्न माग गरे । समितिलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिनुपर्नेमा उनले जोड दिए ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले व्यक्तिगत तवरबाट प्रकाशन भएको पात्रोका आधारमा राज्यले काम गर्नुपर्ने समयको अन्त्य भएको बताए । आर्थिक स्रोतको व्यवस्थापनकै कारण पात्रो प्रकाशन गरी सार्वजनिक गर्न ढिलाइ भएको उनले सुनाए ।
विसं २०२५ मा स्थापना भएको समितिको गठन आदेश गत वर्ष स्वीकृत भएको उल्लेख गर्दै कार्यकारी निर्देशक ढुङ्गेलले जनशक्तिको अभावका कारण काम गर्न कठिनाइ भएको सुनाए । देशभर ५० देखि ७० हजार भित्तेपात्रो प्रकाशन गर्न ठूलो धनराशि खर्च हुने उल्लेख गर्दै उनले यसलाई समितिले व्यवस्थित गर्न लागिपरेको बताए ।
कार्यक्रममा विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेलले समितिले धर्म, संस्कृति क्षेत्रलाई नियमन गर्नुपर्ने बताउनुभयो । महिला ज्योतिष सङ्घका अध्यक्ष रतिदेवी जोशी श्रेष्ठले समितिको गठन आदेश जारी हुनुअघि ११ सदस्यीय समिति रहेकामा हाल घटाएर सात जनामा सीमित गरिनु उपयुक्त नभएको बताए । समितिमा जनजातिको पनि प्रतिनिधित्व हुनुपर्ने उनको माग छ । नेवारी समुदायले मनाउने चाडपर्वका नाम र भाषामा अशुद्धी भएको गुनासो पनि उनले गरे ।
कार्यक्रममा समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीले विश्वकै अग्लो देश नेपालमा सबै आकाशीय ग्रहको अध्ययन अनुसन्धानका लागि ठूलो वेदशाला निर्माण गरिनुपर्नेमा जोड दिए । बजारमा निस्कने अन्य पात्रोभन्दा ठूलो आकारको, अक्षर ठूला भएको यो पात्रो हेर्न सहज हुनेछ ।
आकर्षक कागजमा ६० पृष्ठमा छापिएको पात्रोको मूल्य व्यक्तिगत रु १५० र संस्थागत रु ५०० तोकिएको छ । पञ्चाङ्गको सम्पादक मण्डलमा समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, मन्त्रालयका संस्कृति शाखा प्रमुख उपसचिव पुण्यमाया गुरागाईं, कार्यकारी निर्देशक ज्योतिष पण्डित ढुङ्गेल र उपप्राध्यापक डा पुरुषोत्तम भट्टराई रहेका छन् ।