वडाध्यक्ष घागामगरको निधन



खाेटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ ।

फोक्सोमा पानी जमेपछि बिरामी भएका उनको ८२ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो । घागामगरलाई यही वैशाख ७ गते उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो । उहाँलाई अस्पतालबाट गए राति घर ल्याइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए ।


विसं २०७४ को स्थानीय तह निर्वाचनमा घागामगर कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०३३ देखि निरन्तर जनप्रतिनिधिको भूमिकामा सक्रिय रहेका थिए । घागामगर गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए । कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार मुटु र फोक्सोको रोगबाट पीडित घागामगरलाई विराटनगरमा उपचार सम्भव नभएपछि घर ल्याइएको थियो । उनी २०२२ देखि राजनीतिमा सक्रिय थिए ।

घागामगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनको निधनले पार्टीलाई मात्र नभइ जिल्लालाई क्षति पुगेको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताइन् । उनको आजै दाहसंस्कार गरिएको बताइएको छ ।