विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्छाैँ : प्रधानमन्त्री देउवा



जनकपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताएका छन् ।

पाँचदलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधानका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गरी पारित गरिने बताए । ‘‘नागरिकताको समस्या समाधानका लागि नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न हामीले खोज्यौँ”, प्रधानमन्त्री देउवाले भने, “तर एमालेले गर्दै आएको संसद् अवरुद्धका कारण विधेयक पेस गर्न सकेका छैनौँ ।”


यद्यपि अब बस्ने संसद्को बैठकमा विधेयक टेबल गरी पारित गरिने उनको भनाइ थियो । पाँच दलीय गठबन्धनलाई जोगाएर लैजानु अहिलेको आवश्यकता रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री देउवाले पार्टीको निर्देशन र गठबन्धनविरुद्ध जानेलाई तत्काल कारबाही गरिने बताए । “पार्टीका नेता कार्यकर्ता हामी सबै अनुशासनमा बस्नुपर्छ”, उनले भने, “पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने, गठबन्धनलाई हराउन मद्दत गर्ने कुरा सह्य हुँदैन, त्यस्तालाई तत्काल कारबाही गर्छौँ ।”

गठबन्धनलाई जोगाई राख्नुपर्छ भन्ने पार्टीको महाधिवेशन र केन्द्रीय समितिको म्याडेन्डअनुसार गठबन्धन भएकाले यसविरुद्ध कसैलाई जाने छुट छैन, उनको कथन थियो । जनताले ठूलो लडाइँ र सङ्घर्ष गरेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई विगतमा कुल्चिने प्रयास भएकाले अझै पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।