सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन



काठमाडाैँ । प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन् ।

तनहुँको रिसिङ इलाकामा निर्वाचनको सुरक्षार्थ स्थापना गरिएको ‘कम्पनी अपरेटिङ वेस’ (सिओवी) को आज निरीक्षण भ्रमणका क्रममा उनले उक्त निर्देशन दिएका हुन् । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तक्र्रियासमेत गरेकाे नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।


निर्देशनालयका अनुसार उनले आजै रुपन्देहीको मझगावा इलाकाको ‘सिओवी’को समेत निरीक्षण भ्रमण गरेका थिए । यस्तै प्रधान सेनापति शर्माले कास्कीको पोखरास्थित मध्ये कमाण्ड हेडक्वाटर र रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको पनि निरीक्षण गर्नुभएको निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले ब्याटल स्कुलको वर्तमान अवस्था, स्थानीय तहको निर्वाचन सुरक्षालगायत विविध पक्षबारे जानकारी लिएका थिए ।