बलेवा । कुनैबेला उनको आरनमा धेरै व्यक्ति आउँथे । अहिले आरनमा ल्याउने सामान नै छैन । खेती किसानी छाडेर बजारमा बस्ने भएपछि आरन पेशा सङ्कटमा पर्दै गएको छ । बागलुङ नगरपालिका–१ रामरेखाका ६३ वर्षीय बमबहादुर विश्वकर्माले यस्तो अवस्था अनुभव गरेका छन् । अनुभव मात्र होइन उनले आफ्नै जीवनमा पुख्र्यौली पेशाले खानै नपुग्ने अवस्था ल्याएको बताउन थालेका छन् ।
दैनिक २० देखि ३० व्यक्तिले आरनमा सेवा लिन आउँदा उनको राम्रो कमाइ थियो । कतिपयले नगद दिन्थे भने कतिपयले अन्न दिँदा उहाँको घरपरिवार चलेको थियो । अहिले भने दैनिक आरनको सेवा लिन आउने नै घटेका छन् । त्यसैले उनको कमाइ घट्दै गयो । त्यही पेशाले परिवार पाल्नुपर्ने बाध्यता छ ।
“अहिले दिनमा रु ५०० सम्म कमाइ हुन्छ, अन्न भने पाइदैन,’ विश्वकर्माले भने, “किनेर खानुपर्छ, यो पेशाको भरमा बाँच्न गाह्रो भइसक्यो ।” यो पेशाबाटै उनले चार छोरा र दुई छोरी हुर्काएका थिए । तर अहिले समस्या बढ्दै गएको छ । विश्वकर्माले भने, “पेशा छाडौँ खान केही छैन, नछाडौँ कति दुःख गरिरहने ?”
पुख्र्यौली पेशा बाहेक अन्य काम पनि उनले जानेका छैनन् । परम्परागत रुपमा उनले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी र दाउ बनाउने गरेका छन् । पछिल्लो समय कोइलासमेत नपाउँदा काममा अप्ठ्यारो भएको विश्वकर्माले बताए । “पहिला जङ्गलमा गएर कोइला तयार पारिन्थ्यो, अहिले जङ्गल जान पाइँदैन”, उनले भने, “बजारको कोइला किन्दा महँगो पर्छ ।”
घरमा कमाइ घटेको र छाक टार्न धौधौ भएपछि उनका छोरा खाडीमुलुक गएका छन् । कमाइ नभएकोले ऋण तिर्न सास्ती भएको उनले गुनासो गरे । एक छोरा बिरामी भएकोले घरमै बस्छन् । बजारमा आधुनिक र बनिबनाउ हतियार आउन थालेपछि उनको जस्तै धेरैको पेशा सङ्कटमा पर्दै गएको छ ।
“खेतीपाती गर्नेको सङ्ख्या घट्दै गएको छ, कुटो कोदालोको प्रयोग पनि घट्दै गएको छ”, विश्वकर्माले भने, “पुख्र्यौली पेशा सङ्कटमा पर्ने भयो ।”