बागलुङमा बढ्यो चुनावी सरगर्मी



बागलुङ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १३ दिनपछि मतदान छ । दलहरु प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् ।

दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब ११ दिन मात्र बाँकी छन् । यो बीचमा प्रचारलाई अझ तीव्र पार्ने दलहरुले जनाएका छन् । सत्ता साझेदार दलको गठबन्धनले शनिबारदेखि जिल्लाभर चुनावी अभियान थालेको छ । मनोनयन फिर्ताको अवधिअघिसम्म अलमलमा देखिएको गठबन्धन एकढिक्का भएर प्रचारमा लागेको सम्बद्ध दलहरुले जनाएका छन् ।


वडा नं. १४ नारायणस्थानमा शनिबार संयुक्त भेला तथा अन्तरक्रियासँगै पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकाको प्रचार अभियान सुरु गरेको नेपाली काँग्रेसका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिए । नगरका १४ वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरुको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन हुने उनको भनाइ छ । गठबन्धनको उम्मेदवार परिचयसहित साझा प्रतिबद्धता पत्र आज सार्वजनिक गरिने भएको छ ।

गठबन्धनले काठेखोला गाउँपालिकामा पनि शनिबारदेखि चुनावी प्रचार अभियान सुरु गरेको छ । वडा नं। ३ धम्जामा आयोजित चुनावी सभामा पाँच दलका जिल्लास्तरीय नेता सहभागी भएका थिए । काठेखोलामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राजु थापा अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक पुन चुनावी मैदानमा छन्।

गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, बरेङ र निसीखोलामा पनि चुनावी अभियान तीव्र पारिएको गठबन्धनले जनाएको छ । जैमिनी नगरपालिकामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नेपाली काँग्रेस जैमिनी नगरका सभापति प्रेम सापकोटाले जानकारी दिए ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ नगर समितिले पनि आइतबार नै प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल छ । वडा तहको चुनावी अभियान पनि आजदेखि सुरु हुने एमाले नगर सचिव रामकृष्ण शर्माले जानकारी दिए ।

आआफ्नै हिसाबले प्रचारमा लागेका दल र उम्मेदवारहरुले आजदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन् । यसका लागि उनीहरुले वडागत रुपमा समय तालिका तयार गरेका छन् । मतदाता फकाउन स–साना भेला, सभादेखि घरदैलो अभियानमा दलहरु केन्द्रित छन् ।

यहाँका अरु स्थानीय तहमा पनि संयुक्त गठबन्धन र एमालेले चुनावी प्रचारलाई तीव्र पारेको छ । सत्ता साझेदार पाँच दल दसै स्थानीय तहमा गठबन्धन बनाएर चुनावमा होमिएका छन् । एमालेले पनि बागलुङ नगरपालिकामा राप्रपा र ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाको ‘विद्रोही समूह’सँग चुनावी तालमेल गरेको छ ।

गठबन्धनतर्फ  काँग्रेसले बागलुङ, गलकोट नगरपालिका सहित काठेखोला , बडिगाड , निसीखोला र तमानखोला गाउँपालिका पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिका, राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिका पाएको छ । 

एमालेले भने दसै स्थानीय तहको प्रमुखमा आफ्नै उम्मेदवार उठाएको छ । एमालेले तालमेलका कारण बागलुङ नगरपालिकाको उपप्रमुखमा राप्रपा र ढोरपाटन नगरपालिकाको उपप्रमुखमा राजमोको ‘विद्रोही समूह’लाई छाडेको छ ।  

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले शनिबार उम्मेदवारलाई चुनाव चिन्ह दिइएको बताउनुभयो । “दल र उम्मेदवारले चुनाव चिन्ह लिएर मतदाताकहाँ जाने, प्रचार गर्ने समय सुरु भएको छ”, उनले भने । निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकायलगायत भने चुनावको व्यवस्थापकीय तयारीमा जुटेका छन् । जिल्ला निर्वाचन अधिकारी रिजालले चुनावमा खटिने जनशक्तिको व्यवस्थापन, खटनपटन, तालिमसहित निर्वाचन आयोगले तोकेका काममा आफूहरु केन्द्रित रहेको बताए ।

उनका अनुसार मतपत्रसहित चुनावमा प्रयोग हुने ५९ प्रकारका सामग्रीहरु जिल्लामा आइसकेका छन् । “व्यवस्थापकीय तयारीको काम अहिले भइरहेको छ, मतदान केन्द्रमा चाहिने सामग्री पछि मतदान अधिकृतसँगै पुग्छन्”, उनले भने, “सुरक्षा प्रबन्धको काम सोही निकायबाटै भइरहेको छ ।”

जिल्लामा एक सय तीन मतदानस्थल र दुई सय ३० मतदान केन्द्र छन् । एक लाख ९३ हजार ६२५ मतदाता छन् । ती मध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् ।