सुर्खेतमा दुई हजार २२९ जनाको उम्मेदवारी दर्ता



सुर्खेत । स्थानीय तहको निर्वाचनमा सुर्खेतमा दुई हजार २२९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ गते तोकिएको समयमा जिल्लाका नौ स्थानीय तहका प्रमुखदेखि सदस्यसम्म पदमा दलीय प्रतिनिधित्व र स्वतन्त्रले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

सुर्खेतमा पाँच नगरपालिका र चार गाउँपालिका छन् । मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले पाँच नगरका प्रमुख पदमा ४८, उपप्रमुखमा ४१, चार गाउँपालिकाका अध्यक्षमा २३ र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दर्ता गरेको जानकारी दिए । प्रदेश राजधानी वीरेन्द्रनगरमा उम्मेदवार बढी छन् ।


यहाँ प्रमुख÷उपप्रमुख, १६ वडाका अध्यक्ष, सदस्य गरी ४७७ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा १७, उपप्रमुखमा १५ उम्मेदवारी छ । वडाध्यक्षमा १०७, महिला वडा सदस्यमा ८५, दलित महिला सदस्यमा ७३, खुला सदयमा १८० जनाले मनोनयन दर्ता गरेका छन् ।

वीरेन्द्रनगरको नगरप्रमुखमा नेपाली कांगे्रसबाट उपेन्द्र खड्का, नेकपा (एमाले)बाट मोहनमाया ढकाल, नेकपा (माओवादी केन्द्र) बाट राजेन्द्र गिरी, नेकपा (एकिकृत समाजवादी) बाट धना शाही, राप्रपाबाट मुकुन्दश्याम गिरीको उम्मेदवारी परेको छ ।

उपप्रमुखमा कांगे्रसबाट रामकुमारी थापा, एमालेबाट निलकण्ठ खनाल, माओवादी केन्द्रबाट शान्ति ढकाल, एकीकृत समाजवादीबाट वीरबहादुर रावत, रापप्राबाट लक्ष्मीकुमारी विकले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । प्रमुख उपप्रमुखलगायत पदमा साना दल र स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

११ वडा रहेको पञ्चपुरी नगरपालिकामा २९३, १४ वडा रहेको गुर्भाकोट नगरपालिकामा २६२, १३ वडा रहेको भेरीगङ्गा नगरपालिकामा २९७, १० वडा रहेको लेकवेशी नगरपालिकामा २५७, ८ वडा रहेको सिम्ता गाउँपालिकामा १४६, छ वडा रहेको चिंगाड गाउँपालिकामा १३६, १० वडा रहेको बराहताल गाउँपालिकामा १९५ र ७ वडा रहेको चौकुने गाउँपालिकामा २२४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।