ललितपुरकाे छ पालिकामा गरी एक हजार ४८८ उम्मेदवार



ललितपुर । ललितपुर जिल्लाका छ पालिकामा गरी जम्मा एक हजार ४८८ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुर महानगरपालिकामा प्रमुखमा १४ र उपप्रमुखमा १३ ले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा १६९, वडा सदस्यमा २६६, महिला सदस्यमा १२६ र दलित महिला सदस्यमा ५७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


गोदावरी नगरपालिकामा छ पालिकामध्ये प्रमुखका उम्मेदवार सबैभन्दा बढी २१ रहेका छन् । यो पालिकामा उपप्रमुखमा १०, वडाध्यक्ष ७६, वडा सदस्य ११०, महिला सदस्य ४८ र दलित महिला ३९ गरी ३३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महालक्ष्मी नगरपालिकामा प्रमुखमा ११ र उपप्रमुखमा पाँचले उम्मेदवारी दर्ता गराएका छन् । सो पालिकामा वडाध्यक्षमा ५६, वडा सदस्य १०२, महिला सदस्य ४७ र दलित महिला सदस्य ३२ गरी जम्मा २५३ ले उम्मेदवारी दर्ता गराएका छन् ।

कोञ्जयोसोम गाउँपालिकामा अध्यक्षमा तीन जना र उपाध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा १७, वडा सदस्यमा ३१, महिला सदस्य १५, दलित महिला सदस्य १२ गरी ८० ले उम्मेदवारी दर्ता गराएका छन् ।

बागमती गाउँपालिकामा प्रमुखमा नौ, उपप्रमुखमा पाँच र वडाध्यक्षमा २५ जनाको उम्मेदवारी परेको छ । वडा सदस्यमा ३२, महिला सदस्य १५ र दलित महिला सदस्य १२ गरी ९८ जनाको उम्मेदवारी परेको छ ।

महाङ्काल गाउँपालिकामा प्रमुख नौ, उपाध्यक्ष छ र वडाध्यक्षमा २८ जनाको उम्मेदवारी परेको छ । वडा सदस्यमा ३८, महिला सदस्य १६, दलित महिला सदस्य १२ गरी १०९ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारले आइतबार र सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

आइतबार थोरै सङ्ख्यामा उम्मेदवार पुगे पनि प्रमुख राजनीतिक दलका प्रतिनिधि सोमबार अपराह्न मात्रै पुगेकाले उम्मेदवारी दर्ता गर्न नै ढिला भएको जिल्ला निर्वाचन अधिकारी गोमा धमला घिमिरेले बताए । कतिपय पालिकामा रातभर त कतिपयमा आज पनि दिउँसोसम्म तथ्याङ्कको कम्प्युटरमा राख्ने काम भइरहेको देखिन्थ्यो ।

कोञ्जयोसोम गाउँपालिकाले राति अबेर दर्ता सकाएको थियो भने अरु पालिकाले आज मात्रै सकाएका हुन् । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायतले उम्मेदवारी दिनुभएको छ । उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा (माओवादी केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायले उम्मेदवारी दर्ता गरेका छन् ।

गोदावरी नगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका गजेन्द्र महर्जन, नेकपा (एमाले) का गम्भीरबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजकुमार महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसबाट मुना अधिकारी, नेकपा (एमाले) बाट रमी प्रधानाङ्ग, नेकपा (एकीकृत समाजवादी) बाट श्यामकृष्ण सिलवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जिता श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

महालक्ष्मी नगरपालिकाबाट प्रमुखमा नेकपा एमालेबाट हरिगोविन्द श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट शिव कट्टेल, नेकपा (एकीकृत समाजवादी) बाट नकुल थापाले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन, नेकपा एमालेबाट वीना सुवेदी केसीले उम्मेदवारी दिएका छन् ।

बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट वीरबहादुर लोप्चन, नेकपा (एमाले) बाट नमराज सञ्जेल, नेकपा (एकीकृत समाजवादी) बाट केशवप्रसाद बजगाइँले उम्मेदवारी दिएका छन् । गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) बाट नमूना दोङ र नेकपा (माओवादी केन्द्र) बाट भक्तकुमारी दर्लामीले उम्मेदवारी दिएका छन् ।

कोञ्जेसोम गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेबाट कृष्णमान लामा, नेकपा (माओवादी केन्द्र) बाट गोपीलाल सिङ्तानले उम्मेदवारी दिएका छन् । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसबाट राजनप्रसाद घिमिरे, नेकपा (एमाले) बाट रणिता तामाङले उम्मेदवारी दिएका छन् ।

महाङ्काल गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट गणेश केसी, नेकपा (एमाले) बाट कमला तामाङ, नेकपा (एकीकृत समाजवादी) बाट राजनप्रसाद बञ्जाराले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, उपप्रमुखमा नेकपा (एमाले) बाट पुरुषोतम हुमागाइँ, नेकपा (माओवादी केन्द्र)बाट डोल्मा लामा र नेकपा (एकीकृत समाजवादी) बाट रोजिना दुलालले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धन दलले साझा उम्मेदवार दिने समझदारी भए पनि ललितपुरमा भने नेकपा (एकीकृत समाजवादी) ले छुट्टै उम्मेदवारी दिएको छ । पार्टीले महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महाङ्काल गाउँपालिकामा उम्मेदवारी दिइएको पार्टीका केन्दीय सदस्य अमृतनाथ तिमिल्सेनाले जानकारी दिए ।