जनकपुरधाम जसपालाई दिएपछि कांग्रेस नगर सभापतिद्वारा पार्टी परित्याग



जनकपुरधाम । नेपाली कांग्रेसको जनकपुरधाम नगर कार्यसमिति सभापति मनोज साहले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रवार पत्रकार सम्मेलन गरी साहले साधारण सदस्य समेत नरहने गरि पार्टी राजीनामा दिएको घोषणा गरेका हुन् ।

सत्ता गठबन्धनले महानगर तथा उपमहानगरको बाँडफाँट गरेकोमा साह असन्तुष्ट थिए । गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पद जनता समाजवादी पार्टी (जसपा)लाई दिएको छ।


उक्त निर्णय भएदेखि नै जनकपुरका नेता कार्यकर्ता आन्दोलित छन् । आज नगर सभापति साह सँगै सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहले पनि राजीनामा दिएका हुन्। उनीहरुसँगै करिब २५० कांग्रेस कार्यकर्ताहरुले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन्।