अत्यधिक गरिबीबाट विचलित अफगान नागरिकद्वारा काबुलमा आत्मदाह



तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशमा आएको आर्थिक सङ्कटका कारण आफूले दुई छाक टार्नसमेत कठिन भएको भन्दै यहाँका एक नागरिकले बिहीबार काबुलमा आत्मदाह गरेका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

करिब २० वर्षका अफगानी नागरिक स्पिन गुलले अप्रिल १८ मा आफैले शरीरमा आगो लगाएका थिए । आत्मदाह गर्ने प्रयासमा जलेर गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खामा प्रेसले जनाएको छ । चार छोराछोरीका बाबु गुल आफ्नो परिवारको लागि आम्दानीको एक मात्र स्रोत थिए । गरिबीका कारण उनी पछिल्लो समय मानसिकरूपमा पनि अस्थिर रहेको गुलका दाजुले बताएका छन् ।


गुलकी हजुरआमाका अनुसार ठेलागाडामा तरकारी बेच्दै आएका गुलले देशमा शासन परिवर्तन आएपछि परिवारमा आएको आर्थिक सङ्कटका कारण आत्महत्या गरेको बताइन् । खराब आर्थिक अवस्थाका कारण गुलेले आत्महत्या गरेको प्रतिवेदनको खण्डन गर्दै अफगान आन्तरिक मन्त्रालयले मृतकलाई मानसिक सन्तुलन ठीक नभएको बताएको खामा प्रेसले जनाएको छ । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानले आर्थिक सङ्कटको सामना गरिरहेको परिवारका आफन्तहरूले दावी गरेका छन् ।

सन् २०२१ को अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएको थियो । तालिबानको सत्तामा द्रुत आरोहणको परिणामस्वरूप आर्थिक गडबडी र खाद्यान्नको अभाव भई देशको गरीब सुमुदायमा मानवीय सङ्कट आएको तालिवानका आलोचकहरूले बताउने गरेका छन् । अफगानिस्तानमा तालिवान सत्तामा आएपछि यूरोप तथा अमेरिकाले उनीहरूको मुलुकमा रहेको अफगान सम्पत्तिलाई रोक्का गरेको र दाताराष्ट्रले तालिवान शासकमाथि शङ्काको दृष्टिले हेर्दा अफगानिस्तानमा आर्थिक सङ्कट झाँगिएको बताउने गरिएको छ ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार अफगानिस्तानमा हाल २३ लाख मानिसले खाद्यान्न अभावको सामना गरिरहेका र ९५ प्रतिशत अफगानीहरूसँग दिनमा दुई छाक टार्ने स्रोतको समेत अभाव रहेको र उनीहरूलाई दाताहरूको सहयोग उपलब्ध गराइने गरिएको छ ।