सोच र चिन्तनको अभावले नेपालको विकास हुन सकेन : अध्यक्ष ओली



ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताएका छन् ।

ललितपुरको गोदावरीमा आज युवा सङ्घ नेपालले आयोजना गरेको ‘युवासँग म’ कार्यक्रममा उनले भने, “अहिलेसम्म विकास किन भएन भन्दा विकासप्रति सोच र चिन्तन भएन । विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर नीति निर्माण भएन ।” उनले सबै क्षेत्रको उन्नतिबाट मात्र समाजको विकास हुनसक्ने बताए ।


अध्यक्ष ओलीले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आह्वान गरे । उनले नेपाल विकसित नहुने कुनै कारण नरहेको, ब्रेन पावरमा नेपाल पुर्खाको पालादेखि नै अग्रणी रहेको बताउँदै विद्युत्को प्रयोग बढाएर मुलुकलाई अर्थतन्त्रमा स्वावलम्बी बनाउन आवश्यक रहको बताए । अब देशको तीव्र विकास सङ्ख्यात्मक नभई गुणात्मक तरिकाले गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले शिक्षा प्रणालीमा केही समस्या रहेको र जीवनोपयोगी प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने बताए । आज आयोजना गरिएको जस्तै ‘युवासँग म’ कार्यक्रम हरेक वर्ष वैशाख ७ गते अन्तरक्रिया कार्यक्रमको निरन्तरता दिन अध्यक्ष ओलीले सुझाव दिए । कार्यक्रममा विभिन्न सङ्घ सङ्गठनमा रहेका युवा उद्यमी, कलाकार, पेसाकर्मीले अध्यक्ष ओलीलाई विकास निर्माण र एमालेको प्रतिबद्धतासँग सम्बन्धित प्रश्न गरेका थिए ।