लोकतन्त्र र संविधानलाई बचाउनका लागि गठबन्धन भएको हो : वरिष्ठ नेता पौडेल



काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताएका छन् ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर्तन र संविधान रक्षाका लागि गठबन्धन भएको बताएका हुन् । “अहिलेको गठबन्धन जो छ यो सत्ताका लागि होइन, व्यवस्थाका लागि गठबन्धन हो, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र नभई लोकतन्त्र र नेपालको परिवर्तनलाई बचाउनका लागि भएको हो, नेपाललाई अग्रगामी रुपान्तरण गर्नका लागि यो गठबन्धन भएको हो,” उनले भने ।


गठबन्धनलाई आफ्नो हैसियतअनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । वरिष्ठ नेता पौडेलले राजा महेन्द्रले संसद् भङ्ग गरेर तानाशाही व्यवस्था लागू गरेको अवस्थामा नेविसङ्घ जन्मेको भन्दै लोकतन्त्रको बाटोमा नेपाललाई अगाडि बढाउन नेविसङ्घको ठूलो भूमिका रहेको बताए । उनले नेविसङ्घको केन्द्रीय कार्यसमितिलाई चाँडो पूर्णता दिनुपर्नेमा जोड दिए । नेविसङ्घ संस्थापक सदस्यसमेत रहेका नेता पौडेलले नेविसङ्घको लाखौँ सदस्यता छापेर स्कुल तथा गाउँसम्म लैजानुपर्ने उल्लेख गरे ।