पल शाह प्रकरण : आफू बलात्कृत नभएको भन्दै नाबालिगले फेरिन् बयान



दमौली । कलाकार पल शाहले बलात्कार गरेको आरोप लगाएकी नाबालिगले अदालतमा बयान फेरेकी छन् ।

तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको थियो । त्यसक्रममा उनले अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी छन् । कानुन व्यवसायीका अनुसार बालिकाले अरुको उक्साहटमा आफूले उजुरी दिएको र बलात्कार नभएको बकपत्र गरेकी हुन् । नाबालिगका बुवा आमा लगायतको बकपत्र भने बाँकी छ ।


बालिकाका बुबाले गत फागुन ११ मा तनहुँ प्रहरीमा छोरीमाथि बलात्कार भएको भन्दै कलाकार शाहविरुद्ध किटानी जाहेरी दिएका थिए । बलात्कारको मुद्दामा तनहुँ र नवलपुर जिल्ला अदालत दुवैले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएका छन् ।

शाह हाल तनहुँ कारागारमा छन् । अन्तिम टुंगो लागि नसकेको मुद्दाको प्रक्रियाकै क्रममा ती नाबालिगले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेसँगै घटनाले नयाँ मोड लिएको छ ।