काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारको काम कारबाहीबाट जनता सन्तुष्ट नरहेको बताएका छन् । आज (मंगलबार) पिस्कर स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट भनिएको पार्टीको मान्छे रहँदासमेत जनता सन्तुष्ट नभएको बताएका हुन् । उनले कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम भइरहेको बताए ।
‘कम्युनिष्ट पार्टी भनिएका मान्छेहरु छन्, मुलुक चलाउने जिम्मेवारी भएका । तर, जनता सन्तुष्ट हुन सकिरहेका छैनन् । कम्युनिष्ट भइर मात्रै पनि पुग्दोरहेनछ,’– उनले भने ।
नेता नेपालले कम्युनिष्टको नाममा राजनीति गर्नेहरुले कम्युनिष्टको मर्यादा राख्नुपर्ने, त्याग, तपस्या र बलिदानी कायम गर्न सक्नुपर्ने बताए ।
तत्कालीन पञ्चायती शासकविरुद्ध आन्दोलित भएको एमालेले आफ्नो संघर्षको कार्यक्रमम सिन्धुपाल्चोकको पिस्कर केन्द्रीत गरेको थियो । २०४० साल माघ १ गते प्रहरीले गरेको दमनका क्रममा वीरबहादुर थामी र इले थामीको हत्या गरेको थियो । सोही दिनको सम्झनामा पिस्कर स्मृति दिवस मनाइन्छ ।