काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले श्रेष्ठ सार्वजनिक सेवा प्रवेश गरेको विसं २०४६ असार ३० गतेदेखि २०७७ असार ३१ गतेसम्मको अवधिको अनुसन्धान गरेको थियो ।
जाँच अवधिमा श्रेष्ठ, उनको श्रीमती, छोरा र छोरी सबैको वैधानिक आय जोड्दा ११ करोड २५ लाख ६५ हजार १९९ रुपैयाँ १७ पैसाको स्रोत खुलेको थियो ।
सोही अवधिमा श्रेष्ठको खर्च तथा लगानी भने १६ करोड १३ लाख ९५ हजार ५२८ रुपैयाँ ७१ पैसा देखिएको थियो । श्रेष्ठको चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसा बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।