शंकर पोख्रेल भन्छन्: कांग्रेस-एमालेजस्ता ठूला दलले काम नगरेका होईनन्, समय नपाएका हुन्



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपालको राजनीतिक इतिहासको ९० वर्षको अवधिमा जम्माजम्मी २० वर्षमात्र दलहरुले नेतृत्व गर्न पाएका बताएका छन् ।

हरेक विषयमा खुलस्त रुपमा आफ्ना धारणा सार्वजनिक गर्दा समर्थन र आलोचना दुवै खेप्दै आइरहेको पोख्रेलले शनिबार साँझ सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रजा परिषद्लाई पहिलो राजनीतिक दल मान्दा र हालसम्म आइपुग्दा करिव २ दशकमात्रै ठूला दलले शासन गर्न पाएको बताएका छन् ।


‘नेपालको राजनीतिक इतिहासमा नेपाल प्रजा परिषदलाई पहिलो राजनीतिक दल मान्ने हो भने नेपालमा नौ दशकको राजनीतिक दलहरुको संलग्नताको इतिहास भएको छ’ उनले भनेका छन् ।

पोख्रेलले प्रजा परिषद् स्थापना पछिको यस समयमा राजनीतिक दलहरुले, एक दशक जहाँनिया राणा शासनका विरुद्धको संघर्षका रुपमा, झण्डै एक दशक राजनीतिक संक्रमण कालका रुपमा,त्यसपछिको तीन दशक निरंकुश पंचायती व्यवस्थाका विरुद्धको संघर्षको रुपमा, एक दशक माओवादी नेतृत्वको सशस्त्र द्वन्द्वका समयका रुपमा, त्यसपछिको एक दशक शान्ति प्रकृया र संविधान निर्माणको संक्रमणकालिन समयका रुपमा, बाँकी रहेको दुई दशक भन्दा कम समय मात्र नेपालका राजनीतिक दलहरुले आफ्नो नेतृत्वमा काम गर्न पाएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘त्यो पनि राजनीतिक अस्थिरताको दुश्चक्रको शिकार बनेर वितेको छ । अन्तर्राष्ट्रिय घेरावन्दी र दवाव आफ्ना ठाउमा छदैछ । यी र यस्ता चुनौतिहरुलाई सामना गरेर अघि बढेका दलहरुलाई काम गर्न सकेनन् भनेर प्रचार गर्ने र विगतमा लामो समय शासनमा रहेर असफल भएका र राजनीतिमा कुनै भूमिका र योगदान नभएका समुहहरुलाई अन्धाधुन्ध रुपमा विकल्पका रुपमा अघि सार्ने कुरा नेपालको राजनीतिलाई अस्थिर बनाउने र देशलाई कसैको योजना र स्वार्थ अनुरुप कमजोर बनाउने कुरा हो’ ।

राजनीतिमा चासो राख्नेहरुले यी र यस्ता तथ्यहरुप्रति गम्भीर र जिम्मेवार हुनुपर्नेमा पोख्रेलको जोड छ ‘राजनीतिक स्थायित्वका लागि बलिया राजनीतिक दलहरु निर्माण गर्ने वाटोमा राजनीतिलाई ध्रुविकरण गर्न सहयोगी बन्नु पर्दछ । तब मात्र राजनीतिले मुलुकको विकास र समृद्धिको यात्रामा गति प्रदान गर्न सक्दछ’ उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here