काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसमा राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको ३२ औँ बैठक बिहान ११ः३० बजे बस्दै छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुँदै छ ।
यस्तै, आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५३ औँ बैठक बस्दै छ । बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुँदै छ । बैठक बिहानको ११ः३० बजे बस्दै छ ।
त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा नेपालको संविधानको धारा २६५ मा गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरवलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेकोले सो सम्बन्धी आयोगको धारणा सम्बन्धमा छलफल हुँदै छ ।
आजै महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दै छ । बिहान ११ः०० बजे बस्ने बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङकन सम्बन्धमा छलफल हुने भएको छ ।
यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक“ सम्बन्धमा छलफल हुने भएको छ ।