काठमाडौँ । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
अभियुक्त कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट रु ७२ लाख ४८ हजार एक सय ५० र राजेशले रु आठ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।