काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ५५ लाख भन्दा धेरै बिगो माग दाबी गरिएको मुद्दामा विशेष अदालतले सफाइ दिएपछि सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको छ ।
गैरकानूनी सम्पत्ति आर्जनमा विशेष अदालतबाट सफाइ पाएका साकिर अहमदविरुद्धको भ्रष्टाचार मुद्दामा विशेषको सफाइ दिएपछि आयोग सर्वोच्च पुगेको हो । उक्त मुद्दामा विशेषले गत २०८१ वैशाख १३ गते प्रतिवादी अहमदलाई सफाइ दिएको थियो ।
पाँचौ तहका कर्मचारी रहेका अहम्दले आफू, आफ्नी श्रीमती नुरजहाँ र छोरा साजन शाहको नाममा राखी हाल कायम श्रोत नखुलेको, आंशिक श्रोत खुलेको, श्रोत खुलेको र अंशबण्डाबाट प्राप्त सम्पत्तिबाट समेतबाट भ्रष्टाचार गरेको ठहर गर्दै २०८१ वैशाख १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले आय तथा व्यय गणना गर्दा प्रतिवादीको वैधानिक आयभन्दा व्यय कम नै रहेको देखिँदा प्रतिवादीउपर दाबी गरिएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को दाबी नपुग्ने फैसला गरेको थियो ।
अहमदका नातेदारले विदेशबाट पठाएको रकमको स्रोतसमेत स्पष्ट नभएको र यसलाई वैधानिक आयमा गणना गर्न नमिल्ने भन्दै आयोगले पुनरावेदन गरेको हो ।
त्यसैगरी कृषि आय र सम्पत्तिको अन्य विवरणमा आयोगका विज्ञहरूको प्रतिवेदनलाई उपेक्षा गर्दै अदालतले गलत निर्णय गरेको जिकिरसहित अख्तियारले पुनरावेदन गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।