झापा। विर्तामोडस्थित डोमालाल रंगशालामा जारी झापा कपको आजको खेलमा न्युरोड टिम (एनआरटी) क्लबले इटहरीको राष्ट्रिय जागृति क्लबलाई ‘टाइब्रेकर’मा ३–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ।
आजको यो जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ। खेलको निर्धारित समयसम्म कुनै पक्षले गोल नगरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो।
टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गरेका हुन्। जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक विशाल सुनारले विफल बनाएका थिए।
खेलको ‘प्लेयर अफ दी म्याच’ विजेता टिम एनआरटीका गोलरक्षक सुनार भएका थिए। उनले नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा नेपाल र भारतका १० टोलीको सहभागिता रहेको थियो। आयोजक झापा–११ सहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सलहेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौं र चित्लाङ एफसी काठमाडौं सहभागी भएका थिए।