नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान घोषणा



काठमाडौं । गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । यो सम्मान १० जना स्रष्टा र एउटा सङ्गीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ ।

नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आयोजित घोषणा कार्यक्रममा विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिइएको हो ।


समाजका अध्यक्ष वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटाले नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान गीतकार नगेन्द्र थापा, लोकगायक बोमबहादुर कार्की, कलाकार धन लामा, सङ्गीत प्रवर्द्धक प्रकाश सायमी, शास्त्रीय सङ्गीतकर्मी ज्ञानुराधा गोर्खाली, गीतकारद्वय बुद्धवीर लामा र किरण केसी (क्रोधी), गायक दिवाकर खड्का र गायिका यशोदा पराजुलीलाई प्रदान गरिने जानकारी दिए ।

साथै सङ्गीत साधना प्रतिष्ठान (इटहरी) र लेखक विमल भौकाजीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिने उनले बताए ।

राष्ट्रिय सङ्गीत पुरस्कार गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बि पाण्डे, सङ्गीतकार आशिष अविरल, एरेञ्जर सम्राट थापालाई प्रदान गरिने भएको उनी बताउँछन् ।

साथै नातिकाजी राष्ट्रिय प्रतिभातर्फ रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मिता दाहाल र सङ्गीतकार कल्याण सिंहलाई, शास्त्रीय सङ्गीततर्फ डा रमेश पोखरेललाई पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बाँस्कोटाले उल्लेख गरे ।

राष्ट्रिय लोक सङ्गीततर्फ लोक गायकत्रय रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विक, कला र पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाललाई पुरस्कार प्रदान गरिने समाजले जनाएको छ ।

नातिकाजीको ९९ औँ जन्म जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बाँस्कोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here