भक्तपुरमा सुरु भयो बिस्केट जात्रा (तस्बिरहरू)



भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आइतबारदेखि सुरु भएको छ । बिस्केट जात्राका लागि आवश्यक नित्यपूजा बिहान ५ बजेबाट सुरु भएसंँगै जात्रा सुरु भएको हो । आइतबार साँझ भैरवनाथको रथ तानिएको छ । प्रत्येक वर्ष नयाँ वर्ष सुरु हुनु चार दिन अगाडि प्रसिद्ध पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाएको भैरवनाथको रथ तान्ने गरिन्छ ।

यसलाई द्यो क्वह विज्याइगू अर्थात देवता तल सवारी हुने भनिन्छ । यसदिन भैरवनाथको रथलाई तानेर नगरको पश्चिमतिर अर्थात् गहिटी, बंशगोपाल क्षेत्रमा लाने गरिन्छ । रथलाई दुवैतिर मोटोमोटो डोरी राखेर सयौं युवायुवतीहरूले तान्ने गर्दछन् । यो क्रममा जात्रा हेर्न आउनेहरु पनि हजारौं हुन्छन् ।


रथलाई जता तानेर लगे पनि साँझ पुनः पाँंचतल्ले मन्दिर अगाडि नै राखेर छोडेपछि पहिलो दिनको जात्रा समापन हुने परम्परा छ । आठ रात नौ दिन लामो जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन ल्योसिंखेलमा ५५ हात लामो लिंगो डोरीको सहायताले तानेर उठाइन्छ । वर्षको अन्तिम दिन उठाइने लिंगोलाई भोलिपल्ट अर्थात् वैशाख १ गते साँंझ ढाल्ने गरिन्छ ।

तस्वीरः लक्ष्मी गारु, रासस