स्व सिंहको पार्थिव शरीरमा कामपा प्रमुख शाह र उपप्रमुख डङ्गोलबाट श्रद्धाञ्जली अर्पण



काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डङ्गोलले कामपाका पूर्वप्रमुख पिएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उनीहरूले पूर्वप्रमुखको पार्थिव शरीरलाई बिदाइ र शोकसन्तप्त परिजनमा समवेदना प्रकट गरेका हुन् ।


उनीहरूसँगै कामपाका प्रवक्ता नवीन मानन्धर, विषयगत समितिका संयोजक, कार्यपालिका सदस्य, नगर सभा सदस्य र कर्मचारीहरूले सिंहको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी बस्दै आएका थिए । पूर्व मन्त्रीसमेत रहेका सिंहको पेटमा अल्सर भएपछि गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।

वि.सं १९९६ चैत ११ गते जन्मीएका सिंह २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए । उनकै कार्यकाल २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।

कामपाले स्व सिंहको निधनप्रति सम्मान प्रकट गर्दै आज केन्द्रीय कार्यालय र मातहतका सबै वडा कार्यालयका अत्यावश्यकबाहेक सेवा बन्द गरी शोक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here