कानुनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकता : उपप्रधानमन्त्री सिंह



काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले विधिको शासन स्थापन गर्ने अभियानमा लागेको बताएका छन् ।

आज काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरमा नेपाली कांग्रेसको एक सय दिने अभियानअन्तर्गत आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विधिअनुसार सरकार सञ्चालन हुने भन्दै कानुनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे । उनले भने, “नेपाली कांग्रेस विधिको शासन स्थापन गर्न सदैव सक्रिय भएकाने लागेको पार्टी हो । विधि विपरीतको काम हामीले कल्पना पनि गर्दैनौँ ।”


उपप्रधानमन्त्री सिंहले सम्पूर्ण काम कानुनी प्रक्रिया र विधि अनुसार हुने सन्दर्भलाई कार्यकर्ताले राम्रोसँग बुझेर पार्टीलाई बलियो बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री सिंहले पार्टीका संरचनाले आ–आफ्नो तहमा जिम्मेवार भएर काम गर्नुको विकल्प नरहेको बताए । “सङ्गठनलाई कमजोर बनाउनु हुँदैन । जनप्रतिनिधिले पनि नागरिकमैत्री कार्यसम्पादन गर्नु जरुरी छ । बोल्ने भन्दा पनि काम गरेर नतिजा देखाउने गरी सबै अघि बढ्नु आजको आवश्यकता हो”, उनले भने ।

उपप्रधानमन्त्री सिंहले आफू हरेक बिहीबार बिहान नियमित रूपमा बानेश्वरस्थित सम्पर्क कार्यालयमा आउने बताउँदै यस क्षेत्रका केही समस्या भए निर्धक्कसँग राख्न स्थानीयसँग आग्रह गरे ।