डुम्रे भन्सार नयाँ सहरः जनसङ्ख्या आकर्षित गर्न चुनौती



दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर र भानु नगरपालिकामा अवस्थित डुम्रे भन्सार नयाँ सहर आयोजनाका रूपमा रहेको छ ।

आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरूप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाउँ विकास समिति–१, २, ३, ४ र साविकको बन्दीपुर गाउँ विकास समिति–१, २, ३ र ४ समेटी नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरूवात भएको हो ।


तीव्र रूपमा विकास भइरहेका तनहुँ सदरमुकाम दमौली पोखरा र भरतपुर नजिक पर्ने भएकाले यहाँ पर्याप्त जनसङ्ख्यालाई आकर्षित गर्न चुनौती थपिएको नयाँ सहर आयोजना डुम्रे भन्सारका कार्यालय प्रमुख अभिषेक अधिकारीले बताए । उनले भने, “यस ठाउँलाई नमूना सहर बनाउने लक्ष्यसहित सरकारले नयाँ सहर घोषणा गरेको हो । नजिकै पर्ने ठूला सहरका कारण यहाँ बस्ती विकासमा समस्या भइरहेको छ ।”

बस्ती विकास कार्यक्रम कार्यान्वयनमा समस्या उत्पन्न भएकामा सोको समाधान गर्न तथा त्यसका लागि स्थानीय जनतालाई सहमत गराउन चुनौती रहेको अधिकारीको भनाइ छ । “सहरको मुख्य आवश्यकताका रूपमा रहने शिक्षा, स्वास्थ्य र औद्योगिक पूर्वाधार निर्माण गर्नुपर्ने स्थानीय जनताको माग छ । ती मागमा नयाँ सहरको लगानी शून्य भएकाले जग्गा विकास कार्यक्रम अगाडि बढाउन समस्या भइरहेको छ”, उनले भने ।

कार्यालय प्रमुख अधिकारीले कार्यालयले विभिन्न आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय समस्या भोगिरहेको भन्दै समथर भूभागमा जग्गा प्राप्तिको समस्या, भिरालो भूभागमा पूर्वाधार विकास गर्न कठिनलगायत रहेका जानकारी दिए । स्थानीय तहको योजना छनोटमा सक्रियता भए पनि योजना कार्यान्वयनका क्रममा उत्पन्न भएका समस्याको सहजीकरणमा अभाव देखिएको उनले उल्लेख गरे ।

व्यवस्थित र योजनाबद्ध सहर र बस्ती विकासलाई अगाडि बढाउन शिक्षा, स्वास्थ्य, औद्योगिक पूर्वाधार, कृषिको आधुनिकीकरणलगायत क्षेत्रका लागि आवश्यक पूर्वाधारमा लगानी गर्नुपर्ने अधिकारीले जोड दिए । उनले भने, “२० वर्षमा ४४ अर्ब लगानी यस नयाँ सहरको कार्यक्षेत्रमा गर्ने भनी सुरू भएको आयोजनाको हाल दश वर्ष बितिसक्दा अपेक्षित पर्याप्त लगानी भएको पाइँदैन । नयाँ सहर आयोजनाको समग्र विकासमा लगानी बढाउनुपर्ने देखिन्छ ।”

नयाँ सहर आयोजना डुम्रे भन्सारको कार्यक्षेत्रअन्तर्गत बन्दीपुर क्षेत्रमा पर्यटकीय विकाससँग सम्बन्धित विषयमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको अधिकारीको भनाइ छ । त्यस्तै भानु नगरपालिकाको भन्सार लगायतका क्षेत्रमा व्यापार व्यवसाय र औद्योगिक पूर्वाधार साथै व्यावसायिक कृषिका लागि पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्ने उनले बताए ।

९५ करोड लगानी

नयाँ सहर आयोजना डुम्रे भन्सारले आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०८०/८१ सम्म विभिन्न योजनामा ९५ करोड ८७ लाख लगानी गरेको छ । कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गरेको कार्यालय प्रमुख अधिकारीले बताए ।

आर्थिक वर्ष २०७२/७३ मा तीन करोड ७४ लाख विनियोजन भएकामा दुई करोड ३६ लाख, आव २०७३/७४ मा १३ करोड २६ लाख विनियोजन भएकामा आठ करोड ८० लाख, आव २०७४/७५ मा २० करोड ६१ लाख विनियोजन भएकामा १९ करोड २४ लाख खर्च भएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार आव २०७५/७६ मा सात करोड ३७ लाख विनियोजन भएकामा चार करोड ९१ लाख, आव २०७६/७७ मा १३ करोड दुई लाख विनियोजन भएकामा १० करोड २९ लाख, आव २०७७/७८ मा १४ करोड ५३ लाख विनियोजन भएकामा १३ करोड ४९ लाख, आव २०७८/७९ मा १९ करोड सात लाख विनियोजन भएकामा १० करोड ८५ लाख, आव २०७९/८० मा १७ करोड ५३ लाख विनियोजन भएकामा दश करोड ४४ लाख र गत आवमा १७ करोड ३७ लाख विनियोजन भएकामा १५ करोड ४४ लाख खर्च भएको छ ।

कार्यालयमार्फत् हालसम्म भौतिक पूर्वाधारतर्फ सडक सञ्जाल विस्तार, कालोपत्र, ग्राभेल र कच्ची सडक निर्माण भएका छन् । यस कार्यमा ६३ करोड लगानी भएको कार्यालय प्रमुख अधिकारीले उल्लेख गरे । ढल व्यवस्थापनतर्फ ४३ किलोमिटर नाली निर्माण गरिएको अधिकारीले जनाउँदै बिजुली तथा सञ्चारतर्फ सोलार बत्ती जडानमा दुई करोड ९० लाख लगानी भएको उनले बताए ।

कार्यालयले छ सय ४३ रोपनी जग्गा पहिचान गरी डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरू गरेको जनाएको छ । त्यसका लागि विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो ।

विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको अधिकारीले बताए । उनले भने, “अब नगर विकास समितिबाट स्वीकृत हुन बाँकी छ । जग्गा अधिग्रहण र जग्गा एक कित्ता कायम गर्न बाँकी रहेको छ ।”