लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै



फुङलिङ । लिम्बू समुदायले आज चासोक (न्वागी) पर्व मनाउँदै छन् । अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई पूजा गरी चढाएर लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउन थालेका हुन् ।

लिम्बूहरूको संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिवाका अनुसार किराँत समुदायमा अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई चढाउने परम्परा छ ।


लिम्बू समुदायका हरेक घरमा वर्षभरि उब्जाइएको अन्न कुलदेवतालाई चढाएर मात्र उपभोग गरिन्छ । यो परम्परा धार्मिक विश्वास र सामाजिक सद्भावको प्रतीक मानिन्छ । लिम्बू जातिका चाडपर्व प्रकृति पूजा र कृषिमा आधारित छन् । चासोक तङनाम लिम्बू समुदायको विशेष पर्व हो । यसलाई ‘न्वागी पूजा’भनेर पनि चिनिन्छ ।

यो चाड उद्यौली याममा, अन्नबाली भित्र्याएपछि, देवतालाई धन्यवाद दिने उद्देश्यले मनाइने समुदायका ज्येष्ठ नागरिक बताउँछन् । किराँत याक्थुङ चुम्लुङका अनुसार लिम्बूहरूका आदिम पुर्खाले तागेरा निङ्वाभु माङसँग प्रार्थना गरी खेतीपाती गर्न बीउबिजन प्राप्त गरेका थिए । त्यसयता, अन्न देवतालाई चढाएर मात्र उपभोग गर्ने परम्परा बसालेको लिम्बू समुदायमा जनविश्वास रहिआएको छ ।

लिम्बू समुदायका प्रा अमर तुम्याङहाङका अनुसार चासोक पूजा देवीदेवताको कृपा प्राप्तिका लागि गरिन्छ । परम्परागत रूपमा यो पूजा घरघरमा गरिए पनि अहिले सामूहिक रूपमा चासोक तङनाम मनाउने चलन बढेको उनले बताए। चासोक तङनाम सामूहिक रूपमा मनाउने क्रममा गाउँ गाउँमा सांस्कृतिक कार्यक्रम, मौलिक नृत्य (यालाङ, च्याब्रूङ), र शुभकामना आदानप्रदान गरिने तुम्याङहाङले जानकारी दिए ।

किराँत समुदायका अन्य शाखामा पनि यो चाड विभिन्न नाम र स्वरूपमा मनाइन्छ । नेपाल सरकारले चासोक तङ्नामका अवसरमा मङ्सिर पूर्णिमाका दिन सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको छ । पूजामा युमा, थेबा, थङदाङबा, र अन्य देवीदेवतालाई पुजिन्छ ।

पूजा सहजताका लागि सर्वप्रथम ‘मिसेक्पा पूजा’ गरिन्छ, जसले बाधारहित पूजा सम्पन्न हुने विश्वास गरिन्छ । किराँत समुदायका पुजारी सुने लिम्बूका अनुसार चासोक तङ्नामले कृषि, धर्म, र सांस्कृतिक एकतालाई प्रतिविम्बित गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here