आज रामनवमी पर्व मनाइदैँ



काठमाडौँ । चैत शुक्ल नवमीका दिन आइतबार सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामप्रति श्रद्वासुमन व्यक्त गर्दै रामनवमी मनाउँदैछन् ।

त्रेता युगमा आजकै दिन जन्मिएका भगवान् रामले पिता दशरथ, भाइ लक्ष्मण, भरत, शत्रुधन र धर्मपत्नी सीताप्रति प्रकट गरेको आदर्श तथा दुनियाँदारका लागि गरेको न्यायको संस्मरण गर्दै मर्यादा पुरुषोत्तमका रूपमा उनको आराधना गर्ने प्रचलन छ ।
बत्तीसपुतलीस्थित रामचन्द्र मन्दिरमा आइतबार बिहानैदेखि भजनकीर्तनको आयोजना गरिने मन्दिर व्यवस्थापन समितिका संरक्षक डा. गोविन्द टण्डनले जानकारी दिए ।


कालमोचनघाटस्थित राम मन्दिरमा महन्थ रामस्वरूपदास वैष्णवको संयोजकत्वमा भगवान् रामप्रति भक्तिभाव प्रकट हुने दुनियाँदारको धार्मिक जमघट हुँदैछ । बत्तीसपुतलीस्थित रामचन्द्र मन्दिर व्यवस्थापन समितिले शनिबार भगवान् रामको विग्रह प्रतिमासहित काठमाडौँ महानगरपालिका क्षेत्रमा शोभा यात्रा गरेको छ । गुठी संस्थानका सहायक प्रशासक आनन्दप्रसाद कर्माचार्यका अनुसार मुलुकका सबै राजगुठीअन्तर्गतका राम मन्दिर, रामधुनी मठमा शनिबारबाट उत्सव आयोजना गर्न भनिएको छ ।