पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै



पर्वत । चालु आर्थिक वर्षमा जिल्लाका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण हुने भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले तीन वटा खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयका अनुसार पैँयु गाउँ गाउँपालिकाको सरौखोलास्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेबास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी–गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो ।


तीन वटा पुलमध्ये दक्षिण पर्वतको पैँयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट खण्डअन्तर्गत छत्तिसेघाट मोटरेबल पुलको निर्माण तीव्र गतिमा भइरहेको कार्यालय प्रमुख सन्तोष अर्यालले बताए । करिब २५ मिटर लामो उक्त पुलको ४५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ ।

रु चार करोड ४३ लाखको लागतमा पुल निर्माण भइरहेको अर्यालले जानकारी दिए । उनका अुनसार यो पुल निर्माणको जिम्मा कस्तुरी कन्स्ट्रक्सनले पाएको छ । यो पुलमा हालसम्म रु एक करोड ८३ लाख भुक्तानी भइसकेको छ ।

वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैँयु गाउँपलिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङ्दी, भोक्सिङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए । पुल निर्माणपछि बाह्रैमास सहज रूपमा उक्त सडक सञ्चालन हुने स्थानीय खगेन्द्र तिवारीले जानकारी दिए ।

कुश्मा–१० पीपलटारी र फलेबास–३ शङ्करपोखरी जोड्नेगरी मल्याङदीखोला माथि मोटरेबल पुल निर्माण पनि सुरु हुन थालेको छ । सोह्र मिटर लामो यो पुल रु दुई करोड ५० लाखको लागतमा बन्न लागेको हो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुल पनि दुई वर्षभित्र सम्पन्न हुने कार्यालय प्रमुख अर्यालले बताए । यो पुलका लागि चालु आर्थिक वर्षमा रु एक करोड विनियोजन भएको छ ।

यो पुल निर्माणपश्चात् कुश्मा नगरपालिकाको वडा नंं ९ पीपलटारी, वडा नंं ८ कटुवाचौपारीका साथै फलेबास नगरपालिकाका शङ्करपोखरी, खानीगाउँ, थापाठाना, भँगरा, कार्किनेटालगायत बासिन्दा लाभान्विन हुने भएका छन् । पुलको अभावमा अहिले स्थानीय जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन् ।

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने परादी–मोदी–गिज्यान–ठाना–तिलाहार खण्डमा पर्ने मोदीखोलामा पनि मोटरेबल पुल निर्माण गर्न थालिएको छ । कुश्मा–८ परादी र मोदी गाउँपालिका–६ गाडतारा जोड्ने उक्त पुल चालु आर्थिक वर्षदेखि निर्माण गर्न लागिएको हो । पुलको बोलपत्र आह्वान भइसकेको छ भने पर्वतको कस्तुरी कन्स्ट्रक्सन कम्पनीले निर्माणको सम्झौता गरिसकेको कार्यालय प्रमुख आर्यालले बताए ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुलका लागि स्रोत सुनिश्चित हुनुका साथै चालु आवका लागि रु ९० लाख विनियोजन भएको र केही दिनभित्र निर्माण सुरु हुने कार्यालयले जनाएको छ । पुल निर्माणको कूल लागत करिब रु १० करोड ४५ लाख रहेको छ भने यसको लम्बाइ ७५ दशमलव छ मिटर हुनेछ ।

परादी–गाडतारा–गिज्यान–ठाना–तिलाहार हुँदै कास्कीको सल्यान–भदौरे–पोखरा सडकको ट्राक खुलेको लामो समय भए पनि मोदीखोलामा पुल निर्माण हुन नसक्दा सडकको उचित प्रयोग हुन सकेको छैन । पुल निर्माण भएपछि यो सडकलाई मध्यपहाडी लोकमार्गको विकल्पमा प्रयोग गर्न सकिने र यात्रा अवधिसमेत छोटिने मोदी गाउँपालिका–६ तिलाहारका वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here