प्रजातान्त्रिक आन्दोलनको आरोह अवरोहबीच सिरियाली राष्ट्रपति असदको सत्ताको २५ बर्ष



पेरिस । सन् २००० मा आफ्ना पिता हफेज अल–असदको मृत्युपछि सिरियाली राष्ट्रपति बसर अल असद सत्तामा आएदेखि नै उनको सत्ताविरूद्धको आन्दोलन गर्न सिरियाली विपक्षीहरूले गठबन्धन गर्न थालेको पाइन्छ ।

सन् २००० जुलाई १७ मा, असद आफ्ना ६९ वर्षका पिताको मृत्युपछि सिरियाको नयाँ राष्ट्रप्रमुख बनेको थियो । असदका पिता हफेजले ३० वर्षसम्म सिरियामा शासन गरेको थियो ।


सन् २००० जुन १० मा हफिजको मृत्यु भएको दिन संसद्ले राष्ट्रपति बन्नका लागि आवश्यक पर्ने न्यूनतम उमेर घटाउन संविधान संशोधन गरी असदलाई राष्ट्रपति बन्ने मार्ग प्रशस्त गरेको थियो ।

पिताको मृत्युलगत्तै उनलाई सशस्त्र बलको कमान्डर इन चिफ र सत्तारुढ बाथ पार्टीको नेता नियुक्त गरिएको थियो ।

सोही वर्ष सेप्टेम्बरमा १०० जना सिरियाली बुद्धिजीवीहरूले सन् १९६३ देखि लागू भएको सैनिक शासनको अन्त्य, थप स्वतन्त्रता र राजनीतिक बहुलवादको माग गरेका थिए । यसलाई ‘दमास्कस वसन्त’ भनिन्छ ।

असदको सरकारले सन् २००१ को जुलाईमा १० जना विरोधीलाई गिरफ्तार गरेको थियो ।

सन् २००५ को फेब्रुअरीमा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको बेरुतमा भएको बम विस्फोटमा मृत्यु भएको थियो ।

प्रमुख पश्चिमा शक्ति र लेबनानी विपक्षीहरूले लेबनानमा बलियो सैन्य उपस्थिति रहेको सिरियालाई हरिरीको मृत्युका लागि दोष दिन्छन् र आफ्ना सेना फिर्ता गर्न आह्वान गर्छन् । दमास्कसले यसको जिम्मेवारी अस्वीकार गरेको छ ।

सोही बर्षको अप्रिलमा सिरियाली सेनाको २९ वर्षको सैन्य र राजनीतिक प्रभुत्वको अन्त्य गर्दै दशौं हजार सिरियाली सेना लेबनानबाट बाहिरिएका थिए ।

सन् २००५ अक्टोबरमा विपक्षी पार्टीहरूले संयुक्त ‘दमास्कस घोषणापत्र’ जारी गर्न एकजुट भए र आमूल र लोकतान्त्रिक परिवर्तनको आह्वान गरे र ‘अधिनायकवादी शैली र साम्प्रदायिक शासन’ को आलोचना गरे।

तत्कालिन प्रशासनले विपक्षी कार्यकर्ता र बुद्धिजीवीहरूमाथि व्यापक दमन गरेको थियो । दमनले प्रजातन्त्रका लागि गरिएको आन्दोलनलाई थप उर्जा मिलेको थियो । सन् २००५ को दमनपछि देशव्यापीरूपमा थप व्यक्तिहरूले असदको विरोधमा सङ्ठित बनेका थिए ।

सन् २००७ को डिसेम्बरमा प्रजातन्त्र पक्षधर विपक्षीहरूको गिरफ्तारीको नयाँ लहर सुरु भएको थियो ।

उनीहरूले थप सङ्गठित बन्दै सन् २०११ मार्चमा अरब वसन्त नाम दिइएको सशक्त आन्दोलनको घोषणा गरियो । यसले सिरियामा नागरिक स्वतन्त्रता र राजनीतिक कैदीहरूको रिहाईको माग गर्दै विरोध प्रदर्शनहरू सुरु गरेको थियो भने प्रशासनले आन्दोलनलाई व्यापक बल प्रयोग गरी दबायो ।

सन् २०११ मार्च महिनामा नै असद प्रशासनले ‘आतङ्ककारी’ घोषणा गरेका व्यक्तिहरूमाथि रक्तपातपूर्ण कारबाही सुरु ग¥यो जुन तत्कालिन सरकारका लागि अभिसाफ नै सावित हुन पुग्यो । आन्दोलनले सरकारविरोधी प्रदर्शनबाट सशस्त्र विद्रोहको स्वरूप लिन पुग्यो र सिरियामा गृहयुद्धको सुरुवात भयो । यस युद्धमा धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू पनि सामेल भए, साथै जिहादीहरू पनि सामेल भए ।

सन् २०१२ मा सरकारले विद्रोहीविरुद्ध हवाई आक्रमणलगायत भारी हतियार प्रयोग गरेको थियो । यसलाई धेरै पटक रासायनिक हतियार प्रयोग गरेको आरोप लगाइएको छ, तर असद प्रशासनले यो आरोपको बारम्बार खण्डन गर्दै आएको छ ।

रूस, इरान तथा तेहरान समर्थित लेबनानी शिया लडाकू समूह हिजबुल्लाहको ठूलो सैन्य समर्थनका साथ नेता असदलाई सत्तामा टिकाइयो ।

लामो समयसम्म चलेको युद्धमा करिब पाँच लाख मानिसले ज्यान गुमाएपछि र झण्डै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित भएपछि सन् २०२० को मार्चमा रूस र टर्कीएबीच भएको सम्झौतापछि युद्धविरामको घोषणा गरिएको थियो तर यसद्धविरामको वाबजुद त्यसपछिको समयमा पनि सिरियामा बमबारी र छिटपुट जिहादी आक्रमणहरूले भने निरन्तरता पाएका थिए ।

यस युद्धमा पाँच लाख भन्दा बढी मानिसको मृत्यु भएको छ, देशको युद्धपूर्वको आधा जनसङ्ख्या विस्थापित भएको छ । यसले असदलाई विश्वव्यापी पराया बनाएको छ ।

विपक्षीहरूको तीव्र विरोध र शक्तिशाली विपक्षी दलहरूको निर्वाचन बहिस्कारका बीच सन् २०२१ मे २६ मा गरिएको निर्वाचनमा असद ९५.१ प्रतिशत मतका साथ चौथो कार्यकालका लागि पुनः निर्वाचित भयो ।

सन् २०११ मा जनविद्रोहविरुद्ध गरेको कारबाहीको प्रतिक्रियास्वरुप सिरियालाई अरब लिगबाट बर्खास्त गरिएको थियो तर सन् २०२३ को मे महिनामा रूस र इरानको पहलमा सिरियालाई पुनः अरब लिगमा सामेल गराइएको थियो ।

सन् २०१३ मा सिरियामा भएको रासायनिक आक्रमणका लागि मानवताविरुद्धको अपराधमा संलग्न रहेको आशङ्कामा फ्रान्सले सन् २०२३ को नोभेम्बरमा असदविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसको अर्को दिन संयुक्त राष्ट्रसङ्घको सर्वोच्च कानुनी निकाय अन्तर्राष्ट्रिय अदालतले सिरियालाई यातना र क्रूर र अपमानजनक व्यवहार अन्त्य गर्न आदेश दिएको थियो ।

– एचटीएस नेतृत्वको निर्णायक आक्रमण–

नोभेम्बर २७ मा इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस) ले विद्रोही आक्रमणको नेतृत्व गरेको थियो र युद्धमा पहिलो पटक असदको सेनाबाट दोस्रो शहर अलेप्पोको नियन्त्रण खोसेको थियो ।

विद्रोहीहरूले आइतबार राजधानी दमास्कस आइपुगेको घोषणा गर्नुअघि हामा र होम्सजस्ता अन्य प्रमुख शहरहरू माथि कब्जा जमाएका छन्।

शनिबार असदको कार्यालयले उनी राजधानीबाट भागेको अस्वीकार गरेको केही घण्टापछि एचटीएसले ‘तानाशाह’लाई सत्ताच्यूत गरेको बताएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सनामक बेलायतस्थित युद्ध अनुगमनकर्ताले आइतबार सेनाले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल छोड्नुअघि नै राष्ट्रपति असदले देश छोडेको जनाएको छ ।