उर्जामन्त्रीले प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाएपछि माओवादीको विरोध



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएर बसेको भन्दै बिरोध जनाएको छ । 

आज पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टी केन्द्रिय कार्यालयको बैठकले विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले कार्यकक्ष नै बनाएर बस्नु उचित नभएको जनाएको हो । माओवादी केन्द्रले सरकारले विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गरेको आरोप समेत लगाएको छ ।


सरकार विचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काममा लागेको आरोप समेत माओवादीको छ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बुधवार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाइ बसेका थिए । यद्यपि विद्युत प्राधिकरणको अध्यक्ष भने उर्जामन्त्री नै रहने व्यवस्था छ ।

बैठकले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाको बारेमा पनि छलफल गरेको छ । उपचुनावले पार्टीको बारेमा राम्रो सन्देश प्रवाह गरेको माओवादी केन्द्रको निस्कर्ष छ ।

एक्लै उपनिर्वाचनमा जाँदा जनताले स्वीकारेको र ०६४ पछि एकतावद्ध भएर जनतामा जाँदा जित सुनिश्चित भएको माओवादीको निस्कर्ष छ ।