कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई  चार वर्षको जेल सजाय



नोम पेन । कम्बोडियाको एक अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई सरोगेट आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ ।

यी १३ महिला सेप्टेम्बरमा कन्दाल प्रान्तका प्रहरीले पक्राउ गरेका २४ विदेशी महिलामध्ये थिए । उनीहरूलाई सीमापार मानव बेचबिखनको प्रयास गरेको अभियोग लगाइएको कन्दाल अदालतको एक विज्ञप्तिमा भनिएको छ ।


अदालतको फैसलाअनुसार उनीहरूलाई ‘चार वर्षको जेल’ सजाय दिइएको छ । यद्यपि सजायको दुई वर्ष निलम्बित हुनेछ ।

अदालतले १३ जनाको ‘पैसाको सट्टामा तेस्रो व्यक्तिलाई बेच्न बच्चा जन्माउने अभिप्राय छ, जुन मानव बेचबिखनको कार्य हो’ भन्ने बलियो प्रमाण रहेको बताएको छ । अदालतको विवरणमा बच्चाहरूको भविष्यबारे कुनै विवरण दिइएको थिएन ।

फिलिपिनो महिलाका लागि खाना पकाउने कम्बोडियाकी एक महिलालाई पनि सहयोगी भएको आरोपमा दुई महिना र एक दिनको जेल सजाय भएको अदालतले जनाएको छ ।

गर्भवती नभएका अन्य सात जना फिलिपिनो र चार जना भियतनामी महिलालाई कम्बोडियाबाट निर्वासित गरिएको कम्बोडियाको राष्ट्रिय तस्करी विरोधी समितिका उपाध्यक्ष चाउ बुन एन्गले मङ्गलबार बताए ।

सन् २०१६ मा कम्बोडियाले व्यावसायिक सरोगेसीमाथि अचानक प्रतिबन्ध लगाएको थियो । त्यसपछि अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका आशावादी अभिभावकहरूको फस्टाउँदो व्यवसाय अचानक बन्द भयो ।

तर चीनले एक–बच्चा नीति खुकुलो पारेपछि व्यावसायिक सरोगेसीको माग अझै उच्च छ र कम्बोडियाका एजेन्सीहरूले यो सेवा जारी राखेका छन् ।

धेरैजसो चिनियाँ दम्पतीहरू एक कम्बोडियाली महिलालाई बच्चा बोक्न ४० हजारदेखि एक लाख डलरसम्म तिर्न तयार रहेको राज्यका स्रोतहरूले यसअघि बताएका छन् ।

सन् २०१८ मा एक अस्ट्रेलियाली नर्सलाई कम्बोडियामा १८ महिनाको जेल सजाय दिइएको थियो ।

हालका वर्षहरूमा धेरै कम्बोडियाली महिलालाई चिनियाँ ग्राहकहरूका लागि बच्चा बोक्न पकाइएको थियो तर उनीहरूलाई बच्चा राख्ने सहमतिमा जमानतमा छोडिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here