उपनिर्वाचनअन्तर्गत आज मध्यरातिदेखि मौन अवधि सुरु, के-के गर्न मिल्दैन?



काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।

मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको हो।


मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाइने छैन।

आयोगले उपनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिइसकेको छ। बिहीबार बसेको आयुक्तहरूको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयमार्फत निर्देशन दिएको हो।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य गरिएको पाइएमा कानुनी कारबाही हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ।

उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवं शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्न, सुक्ष्म ढंगले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शंका लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्न आयोगले निर्देशन जारी गरेको छ।

त्यस्तै उपनिर्वाचनको मतदान हुने दिन निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा- पुऱ्याउन नहुने, दफा ५ बमोजिम मतपत्रको दुरूपयोग गर्न नहुने, दफा ६ बमोजिम गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, परिच्छेद ३ को दफा ७ बमोजिम मतदानको अधिकार विना मतदान गर्न नहुने, दफा ८ बमोजिम पटक पटक मतदान गर्न नहुने, दफा ९ बमोजिम मत सङ्केत सार्वजनिक गर्न नहुने, दफा १० बमोजिम मतदानको प्रक्रिया उल्लंघन गर्न नहुने, दफा ११ बमोजिम मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने, दफा १२ बमोजिम मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने, दफा १३ बमोजिम मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाका प्रतिकूल हुने गरी कुनैपनि कार्य हुन नदिन र कहीं कतैबाट भए गरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र सोको जानकारी गराउन निर्देशन दिएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी र सुरक्षाकर्मीहरूबाट सम्पूर्ण उम्मेदवारहरू र राजनीतिक दलहरूप्रति समान व्यवहार गरी निर्वाचन सम्बन्धी कार्यसम्पादनमा समान अवसर प्रदान गर्न सम्बन्धित निकायहरूले आवश्यक सतर्कता अपनाई निर्वाचन सम्पन्न गर्न गराउन निर्देशन दिइएको आयोगले जनाएको छ।

आगामी मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता रहेका छन्।

४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ।

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसकै टीकाकुमारी चौधरी (भुल)निर्विरोध निर्वाचित भइसकेका छन्।

यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here