पोखरा । पोखराको प्राइम बहुउद्देश्यीय बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा थप एक जनालाई कारागार चलान गरेको छ ।
तनहुँको व्यास नगरपालिका-१० का शंकरनारायण श्रेष्ठलाई कारागार चलान गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतमा पेश गरेको थियो ।
अदालतले ५० लखा धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले तोकेको धरौटी रकम तिर्न नसकेपछि बिहिवार कास्की काराकार चलान गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
पोखरा महानगरपालिका- ४ गैरापाटनमा कार्यालय रहेको प्राइम सहकारीले एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन गरेको सहकारी रजिष्ट्राको कार्यालय गण्डकीले गरेको अनुसन्धानले देखाउँछ ।
प्रबन्धक निरु थापा र कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेलको योजनामा सहकारीको रकम अपलचन भएको सहकारी रजिष्ट्रारको कार्यालयले निष्कर्षसहितको प्रतिवेदन प्रहरीमा बुझाएको थियो।