काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताएका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्ववृद्धि गरेर न्यायोचित वितरण गर्न आफूहरूले नयाँ ढङ्गले काम गरिरहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नै समयमा देशमा परिवर्तन ल्याउनुपर्ने भएकाले परिवर्तनको भार भावी सन्ततिलाई जिम्मा नदिने बरू त्यसको अनुभूति दिने बताए ।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एमाले गफ गर्नेभन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्टकै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन प्रेरणा मिलेको बताए ।
उनले सामाजिक सुरक्षा कार्यक्रम थालनी भएको सात वर्षमा उल्लेख्य काम भएको र आगामी एक वर्षभित्र सामाजिक सुरक्षा कार्यक्रमको अवस्थामा अहिलेको भन्दा प्रगति भएको अवस्था हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले मजदुर र योगदानकर्ताजस्ता सरोकारवालको प्रतिनिधित्व नभई मजदुरका विषयमा निर्णय गर्ने प्रवृत्ति गलत भएको भन्दै सामाजिक सुरक्षा कोषमा त्यस्तो भएको पाइए सच्याइने प्रतिबद्धता व्यक्त गरे ।