काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आगामी शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट मूल्य तोकेको छ । क्यानले सोमबार साधरण र भिआईपी गरि दुई किसिमको टिकट दर निर्धारण गरेको हो ।
प्रतियोगिताको पहिलो दिन अर्थात् उद्घाटनको दिनमा साधरण तर्फ टिकट मूल्य ३०० रुपैंयाँ निर्धारण गरिएको छ । त्यस्तै भीआईपीतर्फको टिकटका लागि उक्त दिन ७०० रुपैयाँ तिर्नुपर्ने छ । अन्य लिग खेलमा भने साधारण तर्फ ३०० र भिआइपी तर्फ ५०० रुपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ ।
प्लेअफका खेलहरूमा साधरणतर्फ टिकटका लागि ५०० रुपैयाँ र भीआईपी टिकटका लागि ७०० रुपैयाँको तोकिएको छ । फाइनल खेलमा साधरण तर्फका टिकटका लागि ५०० र भीआईपीका लागि १००० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी प्रतियोगितामा क्यानले सिजनल पासको पनि व्यवस्था गरेको छ । जसका लागि २० प्रतिशत छुट दिने क्यानले जनाएको छ । सिजनल टिकट साधारण तर्फ ४ हजार ४ सय ८० र भिआईपी तर्फ ८ हजार २ सय ४० रुपैयाँ रहेको छ ।